खै कस्ले?
तिमी उसलाई सही भनेर दंग छौ म उसलाई गलत भनेर दंग छु हामी आफू आफैमा दंग छौ तर तिमी र म एउटा कुरामा छर्लङ्ग छौ की पानी आउने ठाउँमा हावा आउने धारा छ सिंचाई हुनुपर्ने ठाउँमा अझै सुख्खा गरा छ तिम्लाई मलाई राम्रैसँग थाहा छ कि यो देश बनाउनुपर्ने उसकै अभिभारा छ। तर तिमी उसको उखानमा मस्त छौ म उसको चुटकिलामा मस्त छु हामी आफू आफैमा मस्त छौ तर तिमी र म एउटा कुरामा व्यस्त छौ की चियाको चुस्कीमा बन्ने देश अझै किन बन्दैन गफमा अस्तिनै बन्ने देश अझै किन बन्दैन तिम्लाई मलाई राम्रैसँग थाहा छ कि उसको गस्तीमा बन्ने देश अझै किन बन्दैन। तर तिमी उसको कुरामा ताली बजाउँछौं म उसको कुरामा गाली भजाउँछु म तिम्लाई बजाउँदैछु तिमी मलाई बजाउँदैछौ हामी आफू आफैमा खाली बजाउँदैछौं तर तिमी र म एउटा कुरामा अझै अन्जान नै छौ की तिम्लाई मलाई कस्ले, कसरी र किन बजाउँदैछ।