खै कस्ले?
तिमी उसलाई सही भनेर दंग छौ
म उसलाई गलत भनेर दंग छु
हामी आफू आफैमा दंग छौ
तर तिमी र म एउटा कुरामा छर्लङ्ग छौ
की
पानी आउने ठाउँमा हावा आउने धारा छ
सिंचाई हुनुपर्ने ठाउँमा अझै सुख्खा गरा छ
तिम्लाई मलाई राम्रैसँग थाहा छ कि
यो देश बनाउनुपर्ने उसकै अभिभारा छ।
तर
तिमी उसको उखानमा मस्त छौ
म उसको चुटकिलामा मस्त छु
हामी आफू आफैमा मस्त छौ
तर तिमी र म एउटा कुरामा व्यस्त छौ
की
चियाको चुस्कीमा बन्ने देश अझै किन बन्दैन
गफमा अस्तिनै बन्ने देश अझै किन बन्दैन
तिम्लाई मलाई राम्रैसँग थाहा छ कि
उसको गस्तीमा बन्ने देश अझै किन बन्दैन।
तर
तिमी उसको कुरामा ताली बजाउँछौं
म उसको कुरामा गाली भजाउँछु
म तिम्लाई बजाउँदैछु तिमी मलाई बजाउँदैछौ
हामी आफू आफैमा खाली बजाउँदैछौं
तर तिमी र म एउटा कुरामा अझै अन्जान नै छौ
की
तिम्लाई मलाई कस्ले, कसरी र किन बजाउँदैछ।
Comments
Post a Comment